खेलकुद

मेचीनगरमा भोलि प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड हुदैं

मेचीनगर । झापाको मेचीनगरमा प्रदेश नम्बर १ स्तरीय खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता भोलि हुने भएको छ । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार (भोलि) खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ ।

रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी स्थित होटल रोयल निर्माणमा पत्रकार सम्मेलन गरी म्याराथुन दौड प्रतियोगिताको तयारी बारे जानकारी दिएको छ ।

शनिवार चारआली स्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको परिसरबाट काँकरभिट्टा स्थित एशियन हाइवे सम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लबका अध्यक्ष किशोर क्षेत्री (कपिल) ले बताए ।

प्रतियोगितामा सहभागी हुने अहिलेसम्म प्रदेश नम्बर १ का एकसय भन्दा बढीले फाराम भरिसकेको आयोजकले जनाएको छ ।

महिला तथा पुरुषको छुट्टाछुट्टै हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार र चौथोदेखि दशौंसम्म हुनेलाई सान्त्वना स्वरुप एक हजार रुपैयाँका दरले पुरस्कार पाउने कार्यक्रम संयोजक दिनेश शाक्यले बताए ।