शिक्षा

होमवर्क नगरेको भन्दै शिक्षकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट

झापा । झापाको बिर्तामोड ५ को एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई घाइते हुने गरी निर्घात कुटपिट गरेका छन् । बिर्तामोड नगरपालिका ५ स्थित किंरातचोक नजिकै रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षकले कक्षा ३ मा अध्ययनरत ९ बर्षिय अविरल तिम्सिनालाई निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक विकास पोख्रेलले गृहकार्य नगरेको भन्दै अविरलमाथि निर्घात कुटपिट गरेका हुन् । शिक्षक पोख्रेलको कुटाइबाट बालक तिम्सिनाको तिघ्रा, गाला र डढेल्लोमा सुम्लो बसेको छ । ‘सरले प्रश्न सोधेको र होमवर्क नमिलाएको भन्दै एक्कासी फलामे स्टिकले कुटिरहनु भयो , घाईते बालकले भने, सुरुमा नै मलाई प्रश्न सोध्नुभयो उत्तर नमिलाएको भन्दै कुट्नु भयो । ’

कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्नु पर्ने तथा विद्यालयमा यस्ता घटना दोहरिन नदिन अभिभावकहरु माझ कुटपिट गर्ने शिक्षकले माफि माग्नु पर्ने भन्दै पीडित बालकका अभिभावक तथा आफन्त विद्यालयमा पुगेका थिए ।

तर विद्यालय प्रशासनले घटना लुकाउन हर सम्भव प्रयास गरेको थियो । अभिभावक समक्ष विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले मिल्न दबाब दिएका थिए पीडित बालकका आफन्त पारस न्यौपानेले भने, घटनालाई सञ्चारकर्मीमाझ नपु¥याउन अनुरोध गर्दै आएका थिए ।

तर पीडित बालकका आफन्त न्यौपानेले केहि सञ्चारकर्मीलाई खबर गरेपछि घटनाका बिषयमा बुझ्न आज दिउंसो विद्यालय जांदा छलफल चलीरहेको थियो । सञ्चारकर्मी पुगेको थाहा पाएपछि मात्र विद्यालयका प्रध्यानाध्यापक श्रेष्ठले घटनाका बिषयमा छलफल गरेका थिए ।

घटना बाहिरिएसंगै विद्यालयका प्रध्यानाध्यापक श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुनः रोजगार नमिल्ने गरी हटाइएको जानाकरी दिएका छन् ।

स्थानीय जनप्रतिनिधि, अभिभावक सहित भएको छलफलमा विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालय प्रशासनले व्यहोर्ने, कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्ने, विद्यालयमा यस्ता घटना दोहरिन नदिन अभिभावक र शिक्षकबीच पाक्षिक रूपमा गर्ने लगायतको सहमति भएको बताइएको छ ।