अर्थ

सही नेतृत्वले मात्रै सही परिणाम दिन्छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै क्षेत्रमा पनि सही नेतृत्व भए सही परिणाम आउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित सृजनशील इन्भेष्टमेन्ट प्रालिको पाँचौ साधारणसभाको उद्घाटन गर्दै घिसिङले सो कुरा बताएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले निजी, साझेदारी तथा सरकारी जुनसुकै क्षेत्रको संघ–संस्था वा कम्पनीमा सही नेतृत्वले जिम्मेवारी प्राप्त गर्ने हो भने त्यस्ता संस्थाहरुले एक दुई वर्षमा नै आर्थिक लगायत हरेक क्षेत्रमा गुणात्मक विकास गर्न सक्ने बताए ।

यसका लागि सृजनशील इन्भेष्टमेन्ट प्रालि राम्रो उदाहरण भएको समेत बताए । साधारणसभामा सृजनशील इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष यज्ञप्रसाद चौलागाईंले सबै सेयर सदस्यहरुको एकताबाट कम्पनीले दुई वर्षको अवधिमा निकै ठूलो सफलता हासिल गर्न सम्भव भएको बताउँदै आगामी दिनमा कम्पनीले लगानीको सही क्षेत्र छनौट गरी यो भन्दा उच्च प्रतिफल दिनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

सृजनशील इन्भेष्टमेन्ट प्रालिले २ वर्षको अवधिमा चार करोड लगानीमा चार करोड बढी मुनाफा आर्जन गरेको बताइएको छ ।