झापा। नेकपा एमाले झापाको १० औं झापा जिल्ला अधिवेशन शुक्रवार सुरु हुँदैछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा हुन लागेको यो अधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित हुने भएकाले अन्य राजनीतिक दलले समेत यसलाई चासोपूर्वक हेरिरहेका छन् ।

पार्टीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिर्तामोडस्थित रामचोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा अधिवेशन हुने पार्टीका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
यस अधिवेशनमा खुलासभा नहुने भएको छ । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरु मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ ।

अधिवेशनमा वडा वडाबाट निर्वाचित भएर आएका कूल ९१५ जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशन पुस २३ सुरु भएर २४ गते सम्पन्न हुने बताइएको छ ।