समाचार

गठबन्धनलाई पछि पार्दै अर्जुनधाराको मेयर र उपमेयरमा एमाले विजयी

झापा । अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अर्जुनधाराको मेयरमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमालेकी खड्गमाया पराजुली निर्वाचित भएका छन् । अर्जुनधारामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका थिए ।

गठबन्धनबाट काँग्रेसकी मेयर उम्मेदवार रंजिता कार्कीलाई ५ हजार ४२६ मतान्तरले पराजित गर्दै तामाङ निर्वाचित भएका छन् । तामाङले १९ हजार १६९ मत ल्याउँदा कार्कीले १३ हजार ७४३ मत ल्याएकी थिइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा तामाङ वडा १० को वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाबाट मेयरका उम्मेदवार सूर्य कुमार खतिवडा १ हजार ६०८ मत ल्याएका छन् ।

त्यस्तै गठबन्धनबाट माओवादी केन्द्रका जितेश योन्जनलाई ८ हजार ५६६ मतान्तरले पराजित गर्दै एमालेकी पराजुली निर्वाचित भएका छन् । पराजुलीले १७ हजार ६३७ मत ल्याउँदा योन्जनले ९ हजार ७१ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा पराजुली वडा नम्बर २ को महिला सदस्यमा निर्वाचित भएकी थिइन् । राप्रपाबाट उपमेयरका उम्मेदवार तारा देवी बस्नेत २ हजार ४७० मत ल्याएका छन् । त्यसैगरी अर्जुनधारा वडा १ मा काँग्रेसका उपेन्द्र बस्नेत, वडा २ मा काँग्रेसका नरेन्द्र कुमार श्रेष्ठ, वडा ३ मा काँग्रेसका सिताराम भट्टराई, वडा ४ मा काँग्रेसका अम्बर बहादुर कटुवाल र वडा ५ मा काँग्रेसका गीताराज खड्का वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै वडा ६ मा काँग्रेसका हरिसचन्द्र बास्तोला, वडा ७ मा गोविन्द प्रसाद खतिवडा, वडा ८ मा एमालेका कुमार प्रसाद उप्रेती, वडा ९ मा काँग्रेसका भीष्म मिश्र, वडा १० मा एमालेका भूपेन्द्र न्यौपाने र वडा ११ मा एमालेका खगेन्द्र इङनाम वडा अध्यक्षमा निर्वाचित भएका छन् ।