अर्थ

झापा गाउँपालिकामा बेथिति : जनप्रतिनिधिलाई ट्रयाकसूट र ढाका साडी, बैठक नबसेको भत्ता

झापा । झापा गाउँपालिकाको गाउँ सभामा पदाधिकारीलाई ट्रयाकसूट र ढाका साडी वितरण गरेको पाइएको छ। २०७९ मा सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को महालेखा परीक्षण प्रतिवेदनमा गाउँ सभामा कपडा खरिद गरी वितरण गरेको खर्च मितव्ययी नदेखिएको उल्लेख गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा खर्च गर्दा स्वीकृति नम्स अनुसार विनियोजित बजेट निर्धारित कार्यमा खर्च गर्नु पर्दछ।

पालिकाले गाउँ सभामा सञ्चालन गर्दा पदाधिकारीलाई मायाको चिनोको रुपमा ट्रयाकसूट र ढाकाको साडी १ लाख ५९ हजार ३७५ रुपैयाँको खरिद गरेको पाइयो।पालिकाले यस्तो खर्चमा नियन्त्रण गर्नु पर्दछ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा कार्यपालिका सदस्यहरूले नबसेको बैठकको समेत भत्ता लिएको पाइएको कारण भत्ता लिएको रकम बेरुजुमा राखिएको छ। “गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ (संशोधन सहित)को दफा ३ मा पदाधिकारीलाई बैठक नबसेको दिनको बैठक भत्ता पाउने व्यवस्था छैन।देहाय विवरण अनुसार पालिकाले पदाधिकारीलाई मासिक ३ वटाको दरले कार्यपालिका बैठक भत्ता दिएकोमा कार्यपालिका बैठकको माइन्युट माग गरी परीक्षण गर्दा १३ वटा बैठक मात्र बसेको पाइयो।

यस प्रकार नबसेको बैठकको भुक्तानी दिन नमिल्ने हुँदा सम्बन्धित पदाधिकारीबाट असुल गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।त्यस्तो बैठक नबसेको रकम २३ वटा बैठकको जयनारायण साह,कुन्तीदेवी बुढाथोकी,टिकाबहादुर विश्वकर्मा र भाद्रुलाल गणेशबाट जनही रु १९ हजार ५५० रहेको प्रतिवेदनमा लेखिएको छ।