झापा । भारतको कोलकातामा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव मुल आयोजक समितिले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीलाई आभारसहित धन्यवाद व्यक्त गरेको छ ।
एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीको नेतृत्वमा नेपालबाट दुइ सयबढी उक्त महोत्सवमा सहभागी भएका थिए । नेपालबाट विभिन्न क्षेत्रका उल्लेखिय सहभागीताले महोत्सवको उचाई थप चुलिएको बताउँदै आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले नेपाली टोलीलाई आभार व्यक्त गरेको हो ।
कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा शुक्रबारदेखि आइतबारसम्म तीन दिन आयोजना भएकोे नेपाल, भारत, भूटान र बंगलादेशका प्रतिनिधिहरुको उल्लेखिय सहभागिता रहेको थियो । महोत्सवमा करिब दुई लाख जना सहभागी भएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।
मेलामा सहभागी अधिकांशले नेपाली सुन्तला, एभोकाडो, किवि, चिया, डल्ले खोर्सानी, घ्यु लगायतका हिमाल तथा पहाडी भेगका ग्रामीण कृषि उत्पादनहरु राम्रो भएको प्रतिक्रिया दिएको एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीले बताए ।
महोत्सवमा नेपाली ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिएको थियो । महोत्सवबाट यसको सकरात्मक प्रतिफल लिन नेपालीले सकेको कार्कीले बताए । विगतदेखि नै कोलकातामा सञ्चालन हुँदै आएको अन्तराष्ट्रिय महोत्सवमा नेपाल सहभागी हुँदै आएको भएता पनि यसपालिको महोत्सवले नेपाली उत्पादन भारतलगायतका राष्ट्रहरुमा प्रवर्द्धनमा टेवा पुगेको बताए ।
हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलका कार्यक्रम संयोजक राज सुप्रियो बसुले महोत्सव भव्यरूपमा सम्पन्न भएको बताए । उनले नेपालीहरुको सहभागीताले महोत्सवमा थप उत्साहा थपिएको बताए ।