खेलकुद

खेलाडीको जीवन सुरक्षा नै खेलको दीर्घकालिन संरक्षण : मन्त्री लिम्बू

झापा । संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले खेलकुदको दीर्घकालीन विकासका लागि खेलाडीको जीवन विमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गर्ने तयारी थालिएको जानकारी दिएका छन् ।

जिल्लाकै पुरानो रङ्गशालाको पहिचान पाएको मेची रङ्गशालाको स्थलगत अनुगमनका लागि भद्रपुर आइपुगेका मन्त्री लिम्बूले झापा जिल्ला खेलकुद समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

विगतमा आफू पनि खेलाडी रहेको स्मरण गर्दै मन्त्री लिम्बूले सन्सारलाई जित्ने माध्यम खेल भएकोले यसको विकासका लागि खेलाडीको जीवन सुरक्षा नै खेलको दीर्घकालिन संरक्षण भएको स्पष्ट पारेका हुन् । उनले आगामी आर्थिक वर्षको वजेटमा झापाको कमल स्थित आदिवासी रङ्गशालाका लागि एक करोड र भद्रपुर स्थित मेची रङ्गशालाका लागि बीस लाख वजेट विनियोजन भएको जानकारी दिए । मन्त्री लिम्बूले नेपालको खेलकुदको विकासका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास जरूरी रहेको समेत बताएका छन् ।

कार्यक्रममा १३औं राष्ट्रपति रनिङ शिल्डमा झापाबाट पदक विजेता खेलाडी र झापामा खेलकूदको गतिविधिलाई चलायमान बनाउन योगदान पु¥याउने स्थानीय तह र संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा एथलेटिक्स (ट्रिपल जम्प) मा स्वर्ण पदक विजेता खेलाडी राजिव ढुंगाना, कबड्डी पुरुषतर्फ रजत पदक विजेता अमन ताजपुरिया, आदर्श सहनी, कराँतेमा कास्य पदक विजता पुस्चल रामडाम, कबड्डी महिलातर्फ कास्य पदक विजेता मनमाया तामाङ, राधिका कुमाल, सचिना मावो र कराँतेतर्फ कास्य पदक विजेता समीर मगरलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै, जिल्लामा खेलकूद गतिविधिलाई चलायमान बनाउन योगदान गरेको भन्दै भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप, सहरा नेपाल साकोस र कनकाई नगर खेलकूद विकास समितिलाई समेत सम्मान पत्र प्रदान गरिएको छ ।

उनीहरुलाई खेलकूद मन्त्री लिम्बू, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले सम्मान पत्र प्रदान गरेका थिए ।