धुलावारी । होलिबेल अंग्रेजी स्कुलका विद्यार्थीहरुले राष्ट्रिय धान दिवस असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मेचीनगरको निन्दा पुलको छेउमा रहेको मानव आश्रमको सामुहिक धान रोपाइमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् ।
हरेक वर्ष होलीबेलका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न जाने गरेका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र होइन व्यवहारिक ज्ञान पनि दिने उदेश्यले धान रोपाइमा सहभागि गराएको हो ।
विद्यार्थीलाई असार १५ को अर्थात किसानको महत्व दर्शाउन खेतमै पुगेर धान रोप्न लगाइएको विद्यालयका प्रिन्सिपल अरिस्ता प्रधानले बताउनु भयो । ‘अबको बच्चामा पढाइ मात्र होइन व्यवहारिक पनि हुनु पर्छ,’ प्रिन्सिपल प्रधानले भन्नुभयो, ‘यसरी प्रत्यक्ष सहभागि गरायो भने उनीहरुलाई यसको ज्ञान दिन सहज हुन्छ ।’
कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई धान रोपाइमा सहभागि गराएको विद्यालयका सहायक निर्देशक सुरज कार्कीले बताउनु भयो । साथै उनीहरुलाई रोपाईपछि विद्यालयमा दहि, चिउरा, केरा र आप खाजाका रुपमा वितरण गरिएको कार्कीले बताउनु भयो । धान रोपाईमा विद्यालयका निर्देशक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधानसहित शिक्षक, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।