बिर्तामोड। झापाको बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नति मार्गको सडकमा स्थानीयले धान रोपेका छन् । ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोध स्वरुप डोमालाल राजवंशी रंगशाला अघिको सडकमै धान रोपेका हुन् ।
कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयहरूलाई सो बाटो भएर हिँड्न कठिन भएको छ । मानिसहरू बीच बाटोबाट हिँड्न नसकी प्लमबाट हिँड्नुपर्ने बाध्यता छ । सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको छ । विद्यार्थी र अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकोले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीय छाया कडरियाले बताइन् ।
४७१ मिटर लम्बाई र ८ मिटर चौडाइ कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का सम्झौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । उनले पाएको म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मे बनेको हो ।
म्याद सकिँदासम्म ठेकेदारले प्लमको काम मात्र मुस्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरू त्यस बाटोबाट हिँड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जाने गरेका छन् । काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिएको थियो । तर, उनले अटेर गरेको बिर्तामोड वडा नम्बर ३ का वडा सदस्य हरि बास्कोटाले बताए ।
नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छोड्नु गलत भएको भन्दै स्थानीयले ठेकेदारले सो सडकको निर्माणमा सुरुवातदेखि नै बेवास्ता गर्ने गरेको बताए । निर्माण कम्पनीले उक्त क्षेत्रमा आयोजना बोर्ड समेत राखेको छैन भने उपभोक्ता समिति समेत गठन गरिएको छैन । यस विषयमा ठेकेदार सिटौलासँग बुझ्न खोज्दा उनको फोन उठेन ।