देबु बानियाँ
बाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठूले) को घरमा खाना नपकाएको एक साता भयो । दिनभर अरुको मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी बेलुका भएपछि दोकानबाट थोरै चिउरा ल्याउँछन् अनि पानीसँग भिजाएर भोको पेट भरेर खुत्रुक्क सुत्छन् । कति रात भोकै पनि सुत्ने गरेका छन् उनी । एकातिर कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा पाक्ने सामाग्री छैन भने अर्कातिर बर्खा लागेसँगै निरन्तर परेको पानीले उनको खाना पकाएर खाने बाटो बन्द हुन्छ । पानी पर्न थालेपछि उनी छानाबाट पानी चुहिने ठाउँमा भाँडा थाप्न थाल्छन् । उनका लागि पानी पर्नु अभिसाप जस्तै हुन्छ ।
उनका बुबा आमाको पहिले नै निधन भएको छ । कमजोर आर्थिक अवस्था भएका उनी बुबा आमा हुँदै बनाएको त्यहि घरमा बस्दै आएका छन् । त्यहि घर पनि पुरै चुहिने भएको छ । घरमा दुई दाजु भाइ बस्छन् । ठूलेको बोली छ तर सुष्त छन् उनी सानै देखि यस्तै थिए । ५ वर्षदेखि भाई प्रदिप पनि सुष्त भए । उनलाई दुई वर्ष अघि धुलावारीको हलेसी मेडीकलका सञ्चालक सोम ओझा मार्फत निःशुल्क औषधी गरेर जाती भएका थिए । तर, औषधी निरन्तर नखाएकाले उनको विराम ज्यूका त्यू भयो । अहिले प्रदिपको काम दिनभर सुत्ने मात्र हो । उनी एक्कोहोरो हुने र एकान्तमा बस्ने गर्छन् । दाजुले खाना पकाए खान्छन् नत्र तीनै दाजुले ल्याएको चिउरासँग पानी मिसाएर खान्छन र सुत्छन् ।
घरमा न खानेकुरा नै छ न भनेजस्तो भाडाँकुँडा । एउटा पुरानो कराई अनि आदी कुच्चिएको भाडो । घरमा पकाउने न गतिलो भाँडा नै छ न खाद्यन्न नै । घर वरीपरि झार पलाएर घर नै पुर्ने अवस्थामा पुगेको छ । घर सफा गर्नु पर्छ भन्ने ज्ञान पनि छैन यी दाजुभाईमा । कुन बेला सर्प आएर टोक्छ त्यो पनि कुनै पत्तो छैन ।
स्थानीय निकायबाट हरेक वर्ष गरिब परिवारलाई भनेर घर बनाउने अभियान नै चल्छ । तर, यो परिवारका लागि त्यो अभियानले न त देख्न सक्यो नत उनीहरुसँग त्यो खोज्न सक्ने सामाथ्र्य नै थियो । उनीहरुको घर मेचीनगर ३ का वडा अध्यक्षको घर नजिकै छ । वडा अध्यक्षले पनि उनीहरुको अवस्थालाई नजिकबाट नियालेका छन् । तर, परिवार वडा कार्यालयको प्राथमिकतामा पर्न सकेका छैनन् ।
वडा अध्यक्ष हर्कबहादुर बस्नेतले यो परिवारको अवस्था हेर्दा दिनु पर्ने हो तर, त्यो भनदा कमजोर परिवारलाई वितरण गर्दै आएको र आगामी दिनमा क्रमश दिँदै जाने बताउनु भयो । उहाँले नगरपालिकासँग यस विषयमा कुरा राख्ने समेत बताउनु भयो ।
यस्तो अवस्थामा रहेको परिवारलाई वडाले नदेखेको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । स्थानीय युवा प्रमिस थापाले सामाजिक सञ्जालमै वडा कार्यालयले गरेको विभेदको विरोध गरेका छन् ।
स्थानीय धनबहादुर निरौलाले श्रमदान गरेर भए पनि उनको घर बनाउने अभियानमा लाग्नु पर्ने बताए । उनको अवस्था कमजोर छ, हामीले सहयोग गर्नु पर्छ । घर बनाउने मिस्त्री समेत रहेका निरौलाले भने यदि सबैले मिलेर सहयोग गर्ने भए म मिस्त्रीको काममा श्रमदान गर्न तयार छु ।
ठूले अरुको काम गर्न जान्छन् तर, उनले हाजिरा कति पाउँछन् उनैलाई थाहाँ हुँदैन । जसले जति दियो त्यसैमा खुसी भएर आउँछन् । कतिले त खाना खुवाएर मात्र पनि काम लगाउने गरेका छन् । उनका नजिकका छिमेकी गोविन्द न्यौपानेले उनलाई दिनभर काम लगाएर थोरै पैसा पठाएको पनि आफुले देखेको बताए । उनको श्रमशोषण समेत भएको उनले बताए ।