विविध

सशस्त्र प्रहरीले गर्यो ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद

मेचीनगर । सशस्त्र प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। शुक्रबार राति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।

एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। ‘कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी तस्करी भइरहेको सूचना पाए लगतै सशस्त्र प्रहरी त्यहाँ पुगेर साल जातको गोलिया काठ बरामद गरिएको थियो ।

‘घटनास्थल पुग्दा एउटा जङ्गल पूरै फडानी गरी काठ लगिरहेको अवस्था फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । उनले तस्कर समूहले ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्न साथ ट्याक्टर छाडेर भागेका बताए ।

सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको एसपी अर्यालले बताए। कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा समेत फेला परेको उनले जानकारी दिए ।

सशस्त्र नपुगेको भए तस्कर समूहले सबै काठ लगि सक्थे । उनीहरूले साना–ठुला सबै रुख काटिसकेका थिए । एकै रातमा त्यहाँ घाटगद्दी गरी राखिएको गोलिया काठ गन्तव्यतर्फ पुर्‍याउने तस्कर समूहको योजना रहेछ तर, आफुहरूले त्यसलाई सफल हुन नदिएको एसपी अर्यालको भनाई छ । उनले घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरेपनि नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको एसपी अर्यालले जानकारी दिए ।

यता मेची सब डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कुलप्रसाद भट्टराईका अनुसार सशस्त्रले बरामद गरेको काठको विषयमा अनुसन्धान भइरहेको बताए। व्यक्तिगत वा सरकारी होस् साल जातको काठ वनको अनुमति बेगर काट्न पाइँदैन। ‘बरामद गरिएको काठ कृष्णथुम्की मन्दिर पछाडिको जमिनबाट काटेको देखिन्छ,’ उनले भने, ‘सो जमिन कसको हो भन्ने बारेमा हामी अनुसन्धानमै छौँ।’