विचार

विश्वकर्मा पुजामा किन गरिन्छ कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजा ?

मीलन भट्टराई
झापा ।
आज विश्वकर्मा पूज, विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ? हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् ।

आज १ असोजका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उनको पूजा गरिन्छ । हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।

विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । ‘यस दिन सबै कार्य बन्द गरेर उनको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ । आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।’विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । ‘देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे, त्यसैले उनी देवताका पनि आदरणीय थिए ।

जन्म प्रशङ्ग
सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । ब्रह्मा पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँका महिलासँग भएको थियो । धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो जसको नाउँ यसै कारणले भगवान विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए ।

यस्तो पनि मान्यता छ कि पाँचै छोरा वास्तु शिल्पको छुटटाछुटटै विधामा पारगंत थिए र उनीहरुले धेरै कुरोको आविष्कार गरेका थिए । यस प्रशंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी इँट र दैवज्ञलाई सुन–चाँदीले जोडिन्छ ।

विश्वकर्माको कृति
इन्द्रको सर्वाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।
रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए ।

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान कृष्णको नगरी थियो । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ ।यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि उनले नै बनाएका थिए, कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि ।

विश्वकर्माको पूजा किन गर्ने ?
देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्त्व पनि उत्तिकै बढी छ ।
‘पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घरघरमा उनको पूजा हुन थालेको छ,’ सांस्कृतिविद चन्द्रमोहन झा पड़वा भन्छन् ।

विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिँदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्ने जनविश्वास छ ।

भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष १७ सेप्टेम्बरमा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि १७ सेप्टेम्बरमा मनाइन्छ । हाम्रो नेपालमा १ असोजमा मनाउने परम्परा रहेको छ ।

विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखानाहरू विश्वकर्मा पूजाको काम गर्दैनन् ।