मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला तथा बालबालिका शाखाको आयोजनामा बिहिबार आयोजित लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना गौतम दोस्रो र उसा निरौला तेस्रो भइन् । त्यस्तै प्रतियोगितामा सान्त्वना श्रेया रिमाल भइन् ।

प्रतियोगितामा मेचीनगर क्षेत्रमा रहेका १० वटा सामुदायिक मावि तहका विद्यालयबाट छात्राहरुको सहभागिता रहेको थियो । त्यस्तै निर्णायकको रुपमा शिक्षासेवी भुवन सुब्बा, सुभद्रा अर्याल र दामोदर ढुङ्गेल रहेका थिए ।
नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत यस अघि नै पहिलो चरणको कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । अभियानको दोस्रो चरणमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यायनरत छात्राहरुलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रमको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन ।

मेचीनगर कार्यापालिका सदस्य तथा सामाजिक विकास शाखा संयोजक हृदय राजवंशीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश मेचीनगर महिला तथा बालबालिका विकास शाखा अधिकृत जयन्ती खरेलले गरेकी थिइन् । त्यस्तै कार्यक्रम सञ्चालन आयुसमान निरौलाले गरेका थिए ।

त्यस्तै मेचीनगरको सभाहलमा बिहिबार नै सञ्चालन भएको दोस्रो कार्यक्रम लैंगिक हिंसा विरूद्ध अभिमूखिकरण कार्यक्रमको सहजीकरण मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले कार्यक्रममा सहभागी छात्राहरुलाई लैंगिक हिंसा विरूद्ध सचेतना जगाउँदै उनीहरुलाई अभिमूहिकरण गरेका थिए ।

