झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिक्षालाई कक्षा कोठा र किताबको पाना भित्र मात्रै सिमित राख्न नहुने बताएका छन् ।
आइतबार झापाको बाहुण्डाँगीमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापन गर्दै शत्रमा बोल्दै मुख्य मन्त्री कार्कीले पढाइसंगै विद्यार्थीलाई रुचि र क्षमताको आधारमा अतिरिक्त क्रियाकलापमा पनि जोड्न आवश्यक रहेको बताए । विद्यार्थी भनेको देशका भविष्यको कर्णदार हुन् । उनीहरूलाई पढाइसंगै आफ्नो क्षमता र रुचि अनुरूप चित्रकला, खेलकुद, गायन, नृत्य, कला साहित्यलगायत अन्य क्षेत्रमा समेत उत्प्रेरित गर्नुपर्नेमा उनको जोड थियो ।

अहिले विश्व बजार खुल्ला रहेको बताउँदै उनले क्षमता भएका नागरिक बेरोजगार बन्नु नपर्ने बताए । उनले क्षमता भएका नागरिक अहिले जुनसुकै देशमा पनि गएर राम्रो आम्दानी गर्नसक्ने वातावरण रहेको बताए ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, कोषाध्यक्ष कमल भेटवाललगायतको आतिथ्यता रहेको थियो
एटु आर्टको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ४ र आदर्श युवा परिवारको सहयोगमा सञ्चालन भएको चित्रकला प्रदर्शनीमा मेचीनगर क्षेत्रका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन मेचीनगर ४ का वडासदस्य पवन बराइलीले गरेका थिए ।

