कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । २०७७ साल फागुन १३ गते बाट सुरु “खुशी राखौँ बालबालिकाको मुहार बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारासहित बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान आज सफल भएको हो ।
योसंगै कमल गाउँपालिका कोशी प्रदेशको पहिलो गाउँपालिका तथा झापा जिल्लामा दोस्रो पालिकाको रुपमा कमल गाउँपालिका बालमैत्री घोषित भएको छ । यसअघि पहिलो पटक भद्रपुर नगरपालिका घोषणा भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज कमल ५ स्थित निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा आयोजित समारोहमा बालमैत्री घोषणा गरे । उनले कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार भविष्य निर्माणका आधारशिला बालबालिकाको स्वास्थ्य, शिक्षासहित मौलिक हक अधिकारको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने बन्दोबस्त मिलाएको बताउँदै बालबालिकाहरू सुरक्षित नभएसम्म देशको भविष्य सुरक्षित नहुने कुरामा कसैको पनि फरक मत हुन नहुने बताए ।
मुख्यमन्त्री कार्कीले प्रतिपक्षीहरूलाई इङ्गित गर्दै भने, ‘मैले सबै बालबालिका बिरामी हुँदा उपचार सेवा निःशुल्क पाउने व्यवस्था मिलाएर के गल्ती गरेँ रु’ उनले भौतिक पूर्वाधारको विकास मात्रैलाई विकास ठान्ने र सामाजिक विकासमा ध्यान नदिने हो भने देश सधैँ पछि पर्ने पनि उल्लेख गरे ।
ज्येष्ठ नागरिकका आश्रम, सामुदायिक भवन, कुल मन्दिर आदिको लागि बजेट माग गरिनु राम्रो नभएको बताउँदै त्यस्ता संरचनाहरू सम्बन्धित सरोकारवालाहरूको आफ्नै प्रयासबाट बनाइनु पर्ने आफ्नो धारणा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले पूर्वाधार विकासभन्दा नागरिकहरूको सामाजिक र संवेगात्मक विकासमा जोड दिए ।
कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले स्थानीय तहमध्ये कमल गाउँपालिका कोशी प्रदेशको चौथो बालमैत्री स्थानीय तह र गाउँपालिकाहरूमध्ये पहिलो तथा देशभरको २३ औं बालमैत्री गाउँपालिका बनेको जानकारी गराए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्ले, प्याव्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोसहित विभिन्न राजनीतिक दल, संघ संस्था, बाल क्लब सञ्जाल लगायतका प्रमुख तथा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमीला न्यौपाने तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बालमैत्री घोषणाको तयारी सम्बन्धीको प्रतिवेदन पेस गर्दै कमल गाउँपालिकाको कूल जनसङ्ख्याको २९ प्रतिशत बालबालिका रहेको उल्लेख गरे । उनले पालिकाका गाउँ टोलमार्फत घरघरमा बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरू पुरा भए नभएको तथ्याङ्क लिइएको उल्लेख गरे । उनले २०७७ सालबाट पालिकामा सुरु भएको यो प्रयासले अहिले यो सफलता पाएको जनाए । यसका लागि जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, बाल सहजकर्ता, अभियानकर्मीहरूलगायतको भूमिकाको प्रशंसा गरे ।
कमल बाल सञ्जालका बालबालिकाहरूले उद्घोषण गरेको सो घोषणा कार्यक्रममा पालिकास्थित विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरूमा क्रियाशील बाल क्लबका बालबालिकाहरूले देशभक्ति,बाल सचेतनामूलक र मनोरञ्जनात्मक गीत, नृत्य आदि प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । विद्यालयमा अवस्थित स्काउटरहरुले मुख्यमन्त्री कार्कीसहित विशिष्ट व्यक्तित्वहरुलाइ सलामी अर्पण गरेका थिए ।

