खेलकुद

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा एपीएफ र संकटा भिड्ने

युवराज आचार्य
झापा ।
मोफसलको सर्वाधिक लोकप्रिय गोल्डकपको रुपमा स्थापित झापा गोल्डकपको छैटौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

फागुन १९ गतेदेखि २८ गतेसम्म विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको हो ।

ए डिभिजन क्लबसहित १० टोली सहभागी गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र संकटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ ।

फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन २४ गते आयोजक झापा ११ एफसीले अन्तिम क्वार्टर फाइनल खेलमा एन्फा मकवानपुरसँग प्रतिस्पर्धा गर्ने छ ।

झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको । छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको छ ।

झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । विजेता टिमले नगद १३ लाख र उपविजेता टिमले नगद ७ लाख पाउने गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको मष्ट भ्यालुएवल प्लेयरले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै  प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।