इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन लिम्बूले उम्मेदवारी दिएका छन् ।
लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी, तथा विपिन आचार्य, केन्द्रीय सदस्य रमेश प्रसाई, झापा जिल्ला सभापति उमेश खरेललगायतको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याललगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै र्यालीसहित मनोनयन दर्ता गराउन गएका थिए ।
लिम्बुको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ तथा समर्थकमा तेजकुमार श्रेष्ठ रहेका छन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा लिम्बुले आफ्नो उम्मेदवारी आफ्नो मात्रै नभएर नागरिकको उम्मेदवारी भएको बताए । ‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने ।