साहित्य

जेठ !

गीताश्री शर्मा

छिट्टै आउनू तिमी !
हुरी- बतास र खडेरीले
धर्तीमाताको वक्ष
छिया छिया, चिराचिरा परेर
दयनीय उराठ लाग्दो भएको छ,
चराचुरुङ्गी, गाईबस्तुहरू पनि
प्यास बुझाउन
मृगतृष्णा बन्नु परेको छ,
झारपात, पोथ्रापोथ्री र लता वृक्षहरू
मुर्झाएका छन्,
खेतखलिहान वर्षा नपाएर
सुरसाका मुखझैं ऑं–ऑं– गरेर
तिम्रो प्रतीक्षामा छन् ।

जेठ, तिम्रो आगमनमा
चैत-बैशाखमा रापिएका पहाडहरू
अग्निज्वाला उगेल्न बिर्सिएर
मुस्कुराउन पर्खिरहेकाछन् ।
जेठ !
धन्य हौ तिमी
आयौ,
तिम्रो आगमनले
निर्वस्त्र महिला सरह
नाङ्गिएका बोट बिरुवाहरू
नव दुलही सरह
रम्रिएर सजिन थालेका छन् ।
मुनाहरू पनि,
दशैँमा नयाँ नानाहरू पाएर
रमाएका बालबालिका सरह
खुशीले हरियाली छाएको छ,
द्रौपदीको चीरहरणमा जसरी
श्रीकृष्ण भगवान
प्रत्यक्ष-अप्रत्यक्ष प्रकट भएजस्तै
तिमी पनि
द्रौपदी रूपी धरणीको
अस्तित्व र इज्जत बचाउन
श्रीकृष्ण बनेर आयौ
धन्य हौ जेठ तिमी !

थाहा छ !
तिम्रो आगमनको खुशीमा
धर्तीमाताको मुहारमा लाली चड्न थालेको छ
प्रकृतिको रूपमा बैंस चड्दै छ
पल्लव पल्लवमा यौवन देखिंदैछन्
लता लतामा
भमरा र पुतलीहरू
साइनो गाँस्न थालेका छन्
चराचुरूङ्गीहरूको पनि
घरजम गर्ने
होड चलेको छ ।

तिमीबिना उजाडिएका
आमाका काख र कोखहरू पनि
सुन्दर मुना, पल्लव र लताहरूले
भरिएका छन्, सजिएका छन्
हे ! जेष्ठ मास
तिम्रो महिमा अपरम्पार छ
तिमी आऊ
अप्सराजस्तै छमछम नाच्दै
खुट्टाका पाउजु र
पायलका सुमधुर आवाज छर्दै
सम्पूर्ण प्रकृति सङ्गीतमा रमाउने गरी!

   - गान्तोक सिक्किम