मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ ले दुईदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । वडा कार्यालयले वडाका जनप्रतिनिधि र कर्मचारीहरूलाई झापा र इलामका विभिन्न पालिका तथा वडा कार्यालय भ्रमण गराएको हो ।

अन्य पालिका र वडामा गरिएका राम्रो प्रयासलाई अवलम्बन गर्न तथा दुई कार्यालय बिच बिगतदेखि नै भईरहेका कार्य अनुभव साटासाट गर्न यस कार्यालयले बिगत बर्षदेखि नै जनप्रतिनिधि र कर्मचारीलाई अध्ययन अवलोकन भ्रमणमा लैजाने गरेको मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलाले जानकारी दिए । उनका अनुसार त्यहीँ कार्यलाई निरन्तरता दिदैं यस पटक वडा कार्यालयले झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७, ईलामको रोङ्ग गाउँपालिका र सुर्योदय नगरपालिकाको विभिन्न वडाको भ्रमण गरिएको बताए ।

आइतबार सम्पन्न वडाको दुईदिने अध्ययन अवलोकन भ्रमणमा जनप्रतिनिधिहरू वडाध्यक्ष धमला, वडा सदस्य तथा कार्यपालिका सदस्य कविता मिजार, वडा सदस्य कुन्दन निरौला, विष्णु भट्टराई र मनकुमारी गिरीको सहभागीता रहेको थियो । भ्रमणमा वडा सचिव पवित्रा सुब्बासंगै कर्मचारी तथा पत्रकार गरी २२ जनाको टोली रहेको थियो ।
