मेचीनगर । पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिम निन्दा खोला गएका थिए । पौडी खेलेर कान्छो छोरा खोलाको छेउमा बसिरहेका थिए । पौडी खेल्ने क्रममा अलिक गहिरोमा पुगेपछि जेठो छोरालाई पौडी खेल्न समस्या भएको थियो। छोरालाई समस्या परेको देखेपछि भण्डारी छोरालाई बचाउन खोलामा पसे । छोरालाई जसोतसो धकेलेर किनारमा पुर्याउन सफल भएपनि आफू भने जोगिन नसकेको स्थानीयको भनाइ छ ।
बुबा डुबेपछि छोराहरूले स्थानीयलाई खबर गरेका थिए । त्यस बेला सम्ममा उनी अचेत भइसकेका थिए । उद्धार गरेर स्थानीयले उनलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्याए पनि बचाउन नसकिएको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँले बताए । अस्पताल पुर्याएको केही बेरमा नै चिकित्सकले शिक्षक भण्डारीलाई मृत घोषणा गरेका थिए ।
अत्यधिक गर्मी छल्न, बिदाको दिन छोराहरूलाई पौडी खेलाउन र केही बेर घुमाउन घरबाट निस्कनु भएका शिक्षक भण्डारीको मृत्यु भएपछि गाउँ नै शोकमा परेको स्थानीयले बताएका छन् ।