संघ \संस्था

मेचीनगर : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

मेचीनगर । मेचीनगर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । श्रावण १ गतेदेखि लागु हुनेगरी मेचीनगरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएको छ ।

मेचीनगरले आज सामाजिक सुरक्षा भत्तामा बायोमेट्रिक भेरिफिकेशन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै नगरका पन्द्रवटै वडाका वडासचिव तथा मातहतका कर्मचारीहरूलाई सेवा चुस्त दुरुस्त बनाउन प्राविधिक ज्ञान सिकाएको छ ।

नयाँ आर्थिक बर्षदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न यस अघि राष्ट्रिय परिचयपत्र भरेर प्राप्त गरेकाहरूले राष्ट्रिय परिचयपत्र तथा भरेर पनि परिचयपत्र नपाएका र नयाँ भर्ने सेवाग्राहीले परिचयपत्र नम्बर अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

एमआइएस अप्रेटर निरोज आचार्यले मेचीनगरमा भदौ मसान्तभित्र सबै लाभग्राहीले राष्ट्रिय परिचयपत्र नबनाए सामाजिक सुरक्षा भत्ता उपलब्ध नहुने बताए ।

नेपाल सरकारले पहिलो चरणमा झापा मेचीनगरसहित पन्द्रवटै पालिका तथा मोरङ, सुनसरीसहित अन्य २८ जिल्लाका पालिकाहरूमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

सामाजिक सुरक्षा भत्तामा बायोमेट्रिक भेरिफिकेशन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलगायत नगरको पन्द्रवटै वडाका वडासचिव तथा कर्मचारीहरूको सहभागीता रहेको थियो ।