समाचार

भुटानी शरणार्थीको पिडा, न आफन्त छन् साथमा न त मातृभूमि

झापा । आज विश्व शरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइयो । तर  झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित  बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्।

उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका दातृ निकायलाई समेत आफुहरुलाई मातृभूमि फर्काइदिन हारगुहार गरिरहेका छन्। तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले उनिहरुलाई घर फर्काउनुको सट्टा बरु तेस्रो मुलुक सिफ्ट गर्ने योजना अघि सार्यो र सोही मौकामा सक्कली भन्दा बढी नक्कली सरणार्थीहरु तेस्रो मुलुक गए। कागजी प्रक्रियाका कारण सक्कली शरणार्थीहरु भने अहिलेसम्म न तेस्रो मुलुक जान पाए न त घर फर्कन नै पाए । बरु सुखदुःखमा सँगै साथ रहेका परिवार आधा यता आधा उता भए ।

शरणार्थीको तेस्रो मुलुक पुनर्वासले परिवारमा ठूलो विचलन ल्याएको छ। हालसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्कमा लयागत देशमा एक लाख १३ हजार ५०० भन्दा बढी तेस्रो मुलुक पुनर्वास भइसकेका छन्।आधा परिवार तेस्रो मुलुक र आधा नेपालमा हुँदा शरणार्थीमा पारिवारिक विचलन आएको छ।

आधा परिवार क्यानडा र अमेरिकामा भएको र आफू पनि जान चाहँदा पनि नसक्दा धेरै समस्या भएको बेलडाँगी शिविरमा बस्दै आएका भूटानी शरणार्थी सन्तबिर तामाङले बताए । उनले भने, मेरो दिदि क्यानडा र छोरा अमेरिका छ । यहाँ श्रीमती र म छौं हामीले पनि धेरै जाने कोशिष गर्यौँ तर हाल सम्म जान सकेका छैनौँ । हाम्रो पिडामा रहेका परिवारलाई अहिले झन् सिसा टुक्रा पारेझैँ टुक्राइदिए।

आफ्नो देश फर्कन पाउने आशमा बसेका पीडित शरणार्थीहरु अहिले अझै पीडित बनेका छन्। बुढेसकालमा छोराछोरीको सहारा लिनुपर्ने अवस्थामा छोराछोरी कोही अमेरिका कोहि क्यानडा पुगिसके तर उनिहरु अहिले शरणार्थी शिविरमा अलपत्र परेका छन्। केहीको प्रक्रिया चलिरहेको थियोे तर जब नेपाल सरकारका मन्त्री समेतको संलग्नतामा नक्कली भुटानी सरणार्थी खडा गरेर विदेश पठाएको घटना सार्वजनिक भएपछि उनिहरु थप पिडामा परेका छन्।

अहिले उनिहरुको माग भनेको कि परिवार पुनर्मिलन गराइदेउ कि नागरिकता देउ भन्ने छ । स्वदेश फर्कन चाहने शरणार्थीलाई सरकारले प्राथमिकता दिनु पर्ने त्यस पछि मात्र नेपालमानै बस्न चाहने र तेश्रो मुलुक पुर्नवास हुन चहानेको मागलाई समेटेर सम्बन्धित निकायले सरणार्थीहरुको माग सुनुवाइ गर्नुपर्ने उनिहरुको माग छ।

एकातर्फ धुमधाम साथ सरोकारवाला निकायले शरणार्थी दिवस मनाइरहँदा भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीलाई शरणार्थी सम्बन्धी हेर्ने संघसंस्थाहरुले प्राथमिकता नदिएको गुनासो गरेका छन्। उनीहरुले आफूहरुको स्वदेश फर्कने अधिकारले प्राथमिकता पाउनुपर्ने बताए। शरणार्थी शिविर बेलडाँगीमा बसोबास गर्दै आएका शरणार्थी तिलक राईले पनि आफ्नो प्रमुख माग भनेकै स्वदेश फर्कन पाउनु पर्ने हो, पटक पटक स्वदेश फर्कन पाउँनु पर्ने माग गर्दै आन्दोलन गर्नुका साथै ज्ञापनपघत्र बुझाउँदा समेत सम्बन्धि निकायबाट सुनुवाई नभएको उनको दुखेसो छ ।’

तेस्रो मुलुक पुनर्बासका नाममा परिवार फुटाएर अलपत्र पारेको अहिले शरणार्थीहरुको गुनासो छ। तेस्रो मुलुक पुनर्वास गर्नाले स्वदेश फर्कन चहानेहरु पनि निरासाले तेस्रो मुलुक पुनर्वास गएका छन्, त्यसैले पहिला स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्कने तथा नेपालमा नै बस्नेलाई उचित गाँस बासको सुनिश्चितता हुने वातावरण बनाउन नेपाल सरकार लागि पर्नुपर्ने उनीहरूको माग रहेको छ ।