काठमाडौँ। जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड र नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।
९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
इंग्ल्याण्डका लागि कोल पाल्मार, जुड वेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जन्डर अर्नोडले गोल गरेका थिए भने स्वीट्जरल्याण्डका फावियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको गोल सफल भएको थियो ।
यसअघि खेलको ७५औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले सुरुवाती गोल गरेका थिए । तर ८०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । ३५ औँ मिनेटमा टर्कीका लागि स्मेट एकेडिनले गोल गर्दै अग्रता दिलाएका थिए ।
७० औंमिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्याण्ड्सलाई बराबरीमा ल्याए । ७६ औं मिनेटमा नेदरल्याण्ड्सले उपहार गोल पायो ।
टर्कीका मेर्ट मुलडरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्याण्ड्स २–१ ले विजयी भयो । दोस्रो हाफको अतिरिक्त छैटौँ मिनेटमा टर्कीका ब्रेटु अगुरो रातो कार्ड पाउँदै मैदान छाडेर १० खेलाडीमा समेटिए पनित्यसको असर खेलको नतिजामा परेन ।
शनिबार रातिको खेलसँगै युरोकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स आमने सामने हुने छन् ।