शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा सार्वजनिक भएको जानकारी दिएका हुन् । 

उनले आर्थिक न्युजसंग भने, ‘भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । जसमा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपिएसम्म ल्याएका ल्याएका छन् ।’ 

उनका अनुसार गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको हो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । 

 प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने गर्छ । यस वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । जुन ४९.०९ प्रतिशत हो । बाँकी ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् । 

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।