समाचार

एसियन हाइवेको काम धमाधम

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तिब्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म १२० किलो मिटर मध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको हो ।

‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्गलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार स्तरबृद्धि गर्दै एसियन हाइवको रुपमा निर्माण कार्य अगाडि बढाइएकोमा पहिलो चरणमा सडक क्षेत्रमा पर्ने सबै रुखहरु कटान सकिएको छ । योसंगै अहिले सडकको नँया ट्राक बनाउनेदेखि कल्भर्टहरु निर्माण गर्र्नेे कार्य धमाधम अगाडी बढिरहेको छ ।

तीन बर्षमा निर्माण सम्पन्न हुनेगरी रुख कटान सम्पन्न भएसंगै अहिले सडक विस्तारको काम सुरु भइसकेको छ । राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम पनि सकिसकेको काँकरभिट्टा–लौकही सडक योजनाले जनाएको छ ।

‘दुई लेनको पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियन हाइवेमा रुपान्तरण हुनेमा सर्वसाधारण आशावादी रहेको बताउँछन् । साघुरो सडकले सकस भइरहेको अहिलेको अवस्थालाई एसियन हाइवे निर्माण भएपश्चात सहज हुने अपेक्षा लिइएको युवा व्यवसायी तथा राजनीतिज्ञ ओमप्रकाश खापुङ्ग बताउँछन् ।

पूर्वी नाका काँकरभिट्टा हुँदै अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न एसियन हाइवे बिस्तार हुनु नेपालको लागि राम्रो पक्ष रहेको अर्का युवा व्यवसायी तथा राजनीतिज्ञ केशवराज पाण्डेको भनाई छ । उनका अनुसार अब सडक बिस्तारसंगै निकट भविश्यमा स्थानीयस्तरदेखि स्वदेश तथा एसियाली राष्ट्रहरुसंगको व्यापारमा थप सहजता मिल्ने छ । उनले एसियन हाइवे बिस्तारसंगै पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने बताए ।

एसियाली विकास बैंकको युएसडी ३०० मिलियन तथा नेपाल सरकारको युएसडी ६२.४७ मिलियन गरि कुल ३६२.४७ मिलियन युएसडीको लागतमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक मध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको काँकरभिट्टा–लौकही सडक योजनाले जनाएको छ । ३४ अर्ब ९१ करोडको लागतमा निर्माण सम्पन्न हुनेगरी ठेका लागि चार लेनको काम अघि बढेको सडक आयोजना अहिले सम्म ५.५ प्रतिशत कार्य प्रगती भएको काँकरभिट्टा–लौकही सडक योजनाका इन्जिनियर आश्रय महतले जानकारी दिए । उनका अनुसार अन्तराष्ट्रिय मापदण्ड अनुसार बन्ने सडकमा सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने छ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् ।