झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको अवस्था सुधार्न अहिलेको व्यवस्था परिवर्तन आवश्यक रहेको बताएका छन् । मंगलबार गृहजिल्ला झापामा राप्रपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्गदेनले अहिलेको व्यवस्था देशले धान्न नसक्ने बताएका हुन् ।
अहिलेको व्यवस्थाले देशमा आर्थिक भार थप्दा युवा शक्ति सबै पलायन हुनु परिरहेको छ । त्यसमाथि अहिले बागडोर सम्हालेकाहरूले विदेशी ऋणमा हालिमुहाली गर्दा देशको वर्तमान अवस्था नाजुक बन्दै गइरहेको उनको भनाइ छ । उनले अब देशको प्रमुखमा राजा र कार्यकारी प्रमुखमा जननिर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।
साथै उनले अहिले सरकारमा हुने ठुला दलहरूले नितिगत रूपमै भ्रष्टाचारीहरूलाई प्रसय दिइरहेको आरोप लगाए । उनले देशमा भएका कलकारखाना बन्द गराउने तथा निति नै परिवर्तन गराएर भएपनि गिरीबन्धु लगायतका थुप्रै उद्योगहरूमा नितिगत भ्रष्टाचार गर्ने गरेको उनको भनाइ छ । यस्तो परिपाटीको अन्त्य अहिलेका काँग्रेस, एमाले, माओवादीलगायतका पार्टी र त्यसका नेतृत्वबाट सम्भव नरहेको उनको भनाइ छ ।
पार्टी प्रवेश कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीलगायत परित्याग गरि पाँच सयबढीको संख्यामा युवाहरू राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा केन्द्रदेखि जिल्ला तथा स्थानीयतह सम्मकै नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो ।
राप्रपा जिल्ला अध्यक्ष कृष्णप्रसाद ओझाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सीता लम्सालले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव कुमार थापाले गरेका थिए ।