स्वास्थ्य

मेचीनगर नगर अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या बढ्दै

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा सञ्चालित नगर आधारभूत अस्पतालमा स्वास्थ्य उपचार गराउने सेवाग्राहीको संख्या बढ्दै गएको छ ।

नगरपालिकाले केही साता अघिबाट धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्थतबृद्धि गरी १५ शैयाको नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएसंगै अहिले दैनिक सयौंको संख्यामा मेचीनगरबासीले स्वास्थ्य सेवा लिइरहेका हुन् । बिगतमा दुई तीन सय मानिल उपचार गराउन वा रिफर लिन आउने गरेकोमा अहिले दैनिक पाँच सयबढी आउने गरेका छन् ।

त्यस्तै यसअघि यहाँबाट उपचार गराउन रिफर लिएर अन्यत्र जानेको संख्या दैनिक करिब एक सय बढी रहेकोमा अहिले अस्पतालमै बिशेषज्ञ डाक्टरसहित स्वास्थ्य सेवामा थप भएपछि त्यो संख्या ४० प्रतिशतले घटेर गएको अस्पताल प्रमुख डाक्टर आशिष निरौलाले जानकारी दिए ।

मेचीनगर १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन गरिएको उक्त अस्पतालबाट अब नगरका सबै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने छन् ।

मानिसको स्वास्थ्य एकदमै संवेदनशील बिषय हो । समयमा उपचार नपाउँदा नागरिकको ज्यान तलमाथि हुन सक्छ । त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भनेर प्राथमिकताका साथ आफुहरू त्यसतर्फ लागि परिरहेको उनले बताए ।

अहिले सेवाग्राहीलाई समस्या नहोस् भनेर अस्पतालमा टोकन सिस्टम लागू गरेको छ भने, बिशेषज्ञ डाक्टर सहित इमर्जेन्सी सेवा, चौबीसै घण्टा प्रसुती सेवा, भिडियो एक्सरे सेवा, इसीजी सेवासंगै फार्मेसी सेवा पनि उपलब्ध गराइरहेको छ ।