संघ \संस्था

मेचीनगरद्वारा आज पनि बजार अनुगमनलाई निरन्तरता

मेचीनगर । आज पनि मेचीनगरमा नगरपालिकासहित जिल्लाका सरकारी कार्यालयको टोलीले बजार अनुगमन गरेको छ ।

मंगलबार मेचीनगर नगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग बाणिज्य संघ, उपभोक्ता जागरण अभियान नेपाल, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको टोलीले मेचीनगर–६ स्थित काँकरभिट्टा बजारको ६ वटा पसलमा अनुगमन गरिएको हो ।

आज अनुगमन गर्दा धेरैजसो पसलमा उत्पादन, मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु भेटिएको छ । ती वस्तुहरु बरामद गरिएको छ ।

म्याद भएको चामलको पिठोमा किरा, ज्वानोमा किरा, म्याद ग्रुजिएका जंगफुड, इलामको चिया, ग्रिन टि, जौँ, फापरको पिठो, सुजी, दालमोड, पुष्टकारी, सब्जी मसला, पापड, स्प्राइट, कोक, रियल जुस, लगायतका अखाद्य वस्तु बरामद गरिएको छ ।

टोलीले काँकरभिट्टाको भट्टराई भेराइटीज र किराना पसलबाट लेवलमा उत्पादन मिति नखुलेको पापड बरामद गरेको छ ।

नेपाल किराना पसलबाट म्याद ग्रुजिएको स्प्राइट, कोक, रियल जुस, सब्जी मसला, म्याद भए पनि पेकिङ गरिएको चामलको पिठोमा किरा फेला परेकोले जफत गरेको छ ।

केके एम स्टोरबाट भद्रपुर नगरपालिका–८ स्थित केआरएस भेन्चुयरर्सको आइसपपको बट्टाको जुस मिठाईमा उत्पादन मिति नलेखिएको पाइएको छ । पसलवालालाई कम्पनीलाई सचेत गराउन आग्रह गरिएको छ ।

यस्तै घिमिरे किराना पसलबाट म्याद ग्रुजिएको ५ लिटरको खानेतेल, खुल्ला बोरामा राखिएको ज्वानोमा किरा भेटिएको थियो । पसलका सञ्चालक हेमबहादुर घिमिरेले मान्छेले खाने ज्वानो होइन गाईलाई खुवाउने ज्वानो भएको दावी गरे ।

एनएमसी सहकारी पसलबाट लेवल र उत्पादन मिति नभएको सोडा र सुकमेलको पेकेट फेला परेको थियो । टोलीले पसलका कर्मचारीलाई सचेत गराएको छ ।

टोलीले शुसिला भेराइटी स्टोरबाट म्याद ग्रुजिएको बिर्तामोडको जौँको पिठो, फापरको पिठो, सुजी, दालमोड, कर्न फ्याक्स, पुष्टकारी लगायतका अखाद्य वस्तुहरु बरामद गरेको छ ।

यसैगरी, डिसी मल्टी स्टोरबाट म्याद ग्रुजिएको चारसय ग्रामको २ बट्टा इलामको चिया, एकसय ग्रामको एक बट्टा ग्रीन टी बरामद गरेको छ ।

टोलीका प्रमुख एवम् मेचीनगर नगरपालिकाका खाद्य निरीक्षक दिपेन्द्र कार्कीले काँकरभिट्टा बजारमा अनुगमन गरिएका ६ वटा पसलमध्ये शुसिला भेराइटी स्टोर र नेपाल किराना पसललाई ७ दिनभित्र नगरपालिका कार्यालय आउन अनुरोध गरेको बताए ।

यस्तै टोलीले भट्टराई भेराइटीज पसललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चन्द्रगढी आउन अनुरोध गरेको छ ।

टोलीमा नगरपालिकाका खाद्य निरीक्षक दिपेन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा भिमबहादुर तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी खाद्य निरीक्षक संगीता साह, मेचीनगर–६ का वडा सदस्य भविन्द्र सुब्बा, मेची उद्योग बाणिज्य संघका सदस्य विनोद बानियाँ, उपभोक्ता जागरण अभियान नेपाल झापा सदस्य अर्जुन कार्की, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।