मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको देवकोटा पार्कले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यरूपमा मनाएको छ । आज एक भव्य समारोहबीच देवकोटा पार्क व्यवस्थापन समितिले महाकवि देवकोटाको जन्म जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइरालाले महाकवि देवकोटाले साहित्यको क्षेत्रबाट नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताए । उनले मानिसको जन्म र मृत्यु नियमित प्रक्रिया रहेपनि रचना भने पुस्तौं पुस्ता रहिरहने बताए । साहित्यको क्षेत्रमा महाकवि देवकोटाले पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ थियो ।
सहजरूपमा अहिलेको देवकोटा पार्क सृजना नभएको बताउँद यसलाई यस स्थानसम्म ल्याउन धेरै संघर्ष र मेहनत खर्चनु परेको बताए । साथै उनले अहिलेको बालकृष्ण थापाको नेतृत्वले यसको उचाइ थप माथि पुर्याउने विश्वास व्यक्त गरे ।

मेचीनगर उपप्रमुख मीना उप्रेती पोख्रेलले देवकोटा पार्कलाई मेचीनगरको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा हेरिएको बताइन् । यहाँ साहित्य संगै आन्तरिक पर्यटन भित्र्याउने उपयुक्त क्षेत्रको रूपमा रहिआएको छ । यसलाई थप व्यवस्थित बनाउन स्थानीय तहको हैसियतले आफुहरू लागिएको बताइन् । साथै उनले प्रदेश तथा संघिय सरकासंग पनि यश क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा निवर्तमान मेचीनगर प्रमुख विमल आचार्य, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी, रिडर्स नेपाल अध्यक्ष सन्तोष आचार्यलगायतले शुभकामना मन्तव्य राखेको थिए ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनका नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू छन् । महाकवि देवकोटाको जीवनीको चर्चा प्राज्ञ सुभद्रा अर्यालले गरेकी कार्यक्रममा पुर्वका चर्चित साहित्यकारहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागीता रहेको कार्यक्रममा पत्रकारलगायत विभिन्न राजनीतिक दलका नेतृत्व तथा संघसंस्था पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा आयोजकले दुई जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा संस्थाका निवर्तमान अध्यक्ष गणेश कुमार खरेल र पत्रकार युवराज आचार्य रहेका छन् । खरेललाई खदा लगाएर सम्मान पत्रद्वारा सम्मान गरेको थियो भने, आचार्यलाई नगद पाँच हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सदस्य प्रविण बानियाँले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव शेखरकाजी थापाले गरेका थिए ।