काठमाडौं । आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत गाई, गोरु र गोवर्धन पूजा गरिँदैछ । शनिबार ३१ घडी ५३ पला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ । सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भए पनि पञ्चाङ्ग निर्णायक विकास समितिले शनिबार एकै दिन गाईगोरुको पूजा गर्न निर्देश गरेको छ ।
लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरिन्छ । गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यस्तै गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ । नेपालजस्तो मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ । कृषिकर्म गर्ने कृषक वा पशुपालकको समेत पूजा गरिने भएकाले यो दिनलाई हलीतिहार पनि भनिन्छ ।
त्यस्तै आजै गोवर्धन पुजा पनि गरिन्छ । गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ । भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ ।
नेपाली समाजमा आज देउसी खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ। उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि रहेको छ ।