झापा । आज आठौं राष्ट्रिय भाक्का दिवस । हरेक बर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवसका रुपमा मनाउने गरिन्छ ।
राजबंशी समुदायको बिषेश परिकारका रुपमा रहेको भाक्का अहिले सबैका लागि लोकप्रिय खाजाको परिकारका रुपमा परिचित भएको छ ।
आज बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भाक्का दिवसको बिषेश कार्यक्रम आयोजना गरिएको छ । भाक्का दिवसको कार्यक्रम विहान ९ बजेदेखि सुरु हुने राजबंशी समाज विकास समितिले जनाएको छ । राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा भाक्का दिवस मनाउँदै आइरहेको छ ।
यस अघि आइतबार राजबंशी समाज विकास समिति झापाले भद्रपुर ९ स्थित होटेल डेग्लोमा भाक्का पीठ उत्सव विविध कार्यक्रम गरी मनाएको छ । आजै बिहान ५ बजेदेखि झापाको शनिश्चरे बजारमा पनि भाक्का दिवस मनाइएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म सबैलाई निशुल्क भाक्का खुवाएर भाक्का दिवस मनाइएको शनिश्चरेका पत्रकार कुमार भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय भाक्का दिवसको अवसरमा आज झापाका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन । आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको झापा क्षेत्र नम्बर ३ अन्तरगतका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका छन । अति आवश्यक कामबाहेक पालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने ति पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।