मेचीनगर। झापाको मेचीनगर ४ बाहुनडाँगीमा तेस्रो तरुल उत्सव आजदेखि सुरु हुँदैछ । पौष्टिक खाद्य परिकारका रुपमा रहेको तरुलको महत्व र यसबाट हुने फाइदाका बारेमा जानकारी गराउने उद्देश्यले तरुल उत्सव आयोजना गरिएको मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो । त्यस्तै हात्ती प्रभावित क्षेत्र भएकाले हात्तीले क्षति नगर्ने बालीका रुपमा पनि तरुलको खेती गर्न प्रेरित गर्ने उद्देश्यले तरुल उत्सव आयोजना गरिएको कार्कीले बताउनु भयो ।
तरुल उत्सवमा विभिन्न जातका तरुल किन्न पाईने तथा उत्सवमै पकाएर खान पाइने समेत व्यवस्था गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । ‘संस्कृति र समुदायमा जरा गाडिएको उत्सव’ भन्ने मुल नाराका साथ आयोजना हुने उत्सवमा भारतबाट समेत अवलोकन गर्न आउने कार्कीले बताउनु भयो ।
मेचीनगर ४ स्थीत बाहुनडाँगी बजारको मुख्य चोकसंगैको बजारमा आयोजना हुने उत्सवमा कलाकारहरुको साँगितिक प्रस्तुती समेत रहने छ । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालन हुने उत्सव आज दिउँसो दुई बजे उदघाटन हुने वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । तरुल उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ ।