झापा । चर्च ब्वाइज युनाइटेड काठमाडौं कि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले जित्छ पाँचौं मेचीनगर गोल्डकपको उपाधि ? आज हुँदैछ छिनोफानो । मेचीनगरको काँकरभिट्टा जारी पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच आज प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा प्रतियोगिताको उपाधिका लागि आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् ।
२०७१ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि विर्तामोड युनाइटेड, दोस्रो पटक झापा ११, तेस्रो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करण अर्काे विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन भएको थियो ।
पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । प्रतियोगिताको उपाधि नजिक पुगेका दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न आफ्नो टोली तयार रहेको बताइरहेका छन् ।
आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले घरेलु समर्थकको साथ उत्कृष्ट खेल्दै घरमै उपाधि राख्ने योजना रहेको जनाएको छ । यस सिजन पहिलो पटक फाइनलमा स्थान बनाएको आयोजक पहिलो अवसर नै उपाधि जित्ने दाउमा रहेको छ ।
प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार रहेको बताएका छन् । ‘हामीसँग जति खेलाडी छन् । ती सबै क्षमतावान छन् । चर्च ब्वाइज बलियो टोली हो । तर, हामी घरमै उपाधि राख्न खेल्छौं । घरेलु समर्थकलाई खुसी दिनेछौँ ।’उनले भने ।
यता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम लयमा रहेका कारण फाइनल जित्न खेल्नेछौं । तर, विपक्षीलाई कमजोर लिँदैनौं ।’
श्रेष्ठको प्रशिक्षणमा चर्च ब्वाइजले यसपटक झापा कप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको छ । यसपटक मोेफसलमा चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ ।
यसले पनि शहिद स्मारक लिग च्याम्पियनपछि लयमा रहेको चर्च ब्वाइज युनाइटेड र होम ग्राउन्ड र स्थानीय दर्शकको समर्थक पाएको आयोजक बिच फाइनल खेल रोमाञ्चक हुने देखिन्छ ।
झापा जिल्ला फुटबल संघ र मेचीनगर खेकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा नेपालका आयोजकसहित ६ तथा भारत र उज्वेकिस्तानको टिमको सहभागी थियो । २४ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनलको सम्पूर्ण तयारी पूरा भएको संयोजक श्रीप्रसाद मैनालीले बताएका छन् ।