काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टामा विदेशी पर्यटक र सर्वसाधारण यात्रुहरुको सहज आवात जावतलाई मध्येनजर गर्दै मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द गरेर सोझैँ एशियन हाइवेको बाटो खुल्ला गरेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले भारत लगायत विदेशबाट आउने पर्यटक र सर्वसाधारण यात्रुहरुलाई आवात जावतमा समस्या नहोस् भनेर उत्तरपटिको गेट बन्द गरेर सिधै एशियन हाइवेको बाटो खुल्ला गरिएको जानकारी दिए ।
नगरप्रमुख बुढाथोकीले सर्वसाधारणहरु पारीबाट आउदा वा जाँदा नाकामा धेरै झनझट भएकाले व्यवस्थित गर्न आग्रह गरे अनुसार भन्सार कार्यालयले आजदेखि आवात–जावतमा सहजता ल्याएको बताए ।
गाडी लिएर आएका पर्यटक र यात्रुहरुलाई भन्सार गेटमा झनझट र धेरै समस्या भएपछि मेचीनगर नगरपालिका, यहाँका सबै राजनीति दलहरु, यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायीले भन्सारलाई आवगमन सहज गर्न अनुरोध गरेका थिए । फलस्वरूप आजबाट सुरूवात भएको मेचीनगरबाट गठित प्यारीभिट्टा बसपार्क काँकरभिट्टा टर्मिनल व्यवस्थापन समितिको उपसमिति बजार व्यवस्था समिति संयोजक रामबहादुर तामाङले जानकारी दिए । उनकाे अनुसार अब चाडैं सिटी रिक्सा र अटो आवत-जावत व्यवस्थापन गर्ने तयारी भइरहेको र सो कार्य सम्पन्न भए थप सहज हुने उनको भनाइ छ ।
आज कोशी प्रदेशका सांसद गोपाल तामाङ, पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नं. वडाका वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले निरीक्षण गरेका थिए ।
यसअघि पारिबाट आएका विदेशी गाडी, पर्यटक र यात्रुहरुलाई भन्सार गेट उत्तरबाट घुमाएर बसटर्मिनल छेउ निकालेर एशियन हाइवेसँग जोडिन्थ्यो । सोझै गाडी र यात्रु एशियन हाइवे बाटोबाट जान पाउँदैन थिए ।
अब यात्रुशाखाबाट गाडीको भन्सार गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सारका कर्मचारीले स्टीकरसहितको सुरक्षा जाँच गरेपछि सिधैँ एशियन हाइवेको बाटो प्रयोग गर्न सकिने छ ।