खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप” आज आयोजक र उर्लाबारी एफसी आमनेसामने हुँदै

मेचीनगर । झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” अन्तर्गत तेस्रो खेलमा आज आयोजक जोरसिमल युवा क्लब र उर्लाबारी एफसी मोरङबिच भिड्न्त हुँदैछ । दुवै टोली जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा रहनेछन् ।

होम ग्राउण्ड र स्थानीय समर्थकहरूको साथमा आयोजक जित्ने दाउमा उच्च मनोबलका साथ मैदान उत्रने छ । यता उर्लाबारी पनि उत्कृष्ट खेल्दै आयोजकलाई पराजित गरि सेमिफाइनल यात्रा तय गर्ने रणनीतिमा हुनेछ । यी दुई टिम बिचको प्रतिष्पर्धा आज दिउँसो ४ बजेबाट सञ्चालन हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । उक्त खेल रोमाञ्चक हुने उपेक्षा दर्शकले गरेका छन् ।

यसअघि बुधबार सम्पन्न खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

पुर्वका ८ टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।