खेलकुद

“निलसरी च्यालेन्ज कप” फाइनल प्रवेशका लागि आयोजक र झापा एफसी भिड्दै

मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आज आयोजक युथ अफ जोरसीमल र झापा एफसी राजगढ बिच भिडन्त हुँदैछ । यी दुवै टोली आजको खेल जित्दै फाइनल प्रवेश गर्ने दाउमा रहनेछन् । आजको खेल जित्ने टिमले कम्तिमा एक लाख रक्षा गर्ने हुँदा पनि अत्यन्त रोमाञ्चक हुने विश्वास फुटबल प्रेमीदर्शक र आयोजकले लिएको छ ।

फाइनल प्रवेशका लागि आयोजक र झापा एफसी बिचको खेल दिनको ४ बजेबाट हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।

त्यस्तै हिजो सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै बेलबारी एफसी मोरङले आइतबार रेडहर्स इलामसंगको अन्तिम सेमिफाइनल खेलमा भेट पक्का गरेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।