संघ \संस्था

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम विर्तामोडमा सम्पन्न

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा जिल्लाका ३० जनाभन्दा बढी पत्रकारहरुको सहिभागिता रहेको थियो ।

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिममा पत्रकार लिलाराज भट्टराई र उमाकान्त खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । पत्रकारितामा एआईको प्रयोग गरेर समाचार उत्पादन, प्रशारण र भिडियो उत्पादनका बारेमा प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो ।

शुक्रवार तालिमको समापनका अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रविधिको प्रयोग आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले पत्रकारितामा यसको अझै धेरै प्रभावकारिता रहेको भन्दै पत्रकारहरुलाई एआईको अधिकतम प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । नगर प्रमुख प्रसाईले कामलाई छिटो छरितो बनाउन एआईको प्रयोगले सहज बनाएको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय प्रविधिको दुरुपयोग बढ्दै गइरहेकोले सचेत रहन सूझाव समेत दिनुभयो ।

तालिममा सहभागिहरुलाई प्रमुख अतिथि नगर प्रमुख प्रसाईले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियो ।