संघ \संस्था

किर्ते काण्ड ढाकछोप गर्न जनप्रतिनिधिको बदनामी, घटनाको पर्दाफास

झापा । बुद्धशान्ति गाउँपालिका–१ को सर्जमिन प्रमाणपत्र किर्ते प्रकरणको विषयमा व्यापक विवाद चुलिएको छ। वडाबाट सर्जमिन किर्ते गरी पठाइएको भनी “बुद्धशान्ति साप्ताहिक” नामक फेसबुक पेजमार्फत सार्वजनिक आरोप लगाइएपछि वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ती दावीहरू “झुटा, कपोलकल्पित, बदनियतपूर्ण र नियोजित” भएको स्पष्ट पारेको छ।

वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलमाथि घरमै बसेर किर्ते सर्जमिनमा हस्ताक्षर गरेको आरोप लगाइएको थियो। तर वडा कार्यालयका अनुसार ती कागजातमा कर्मचारीको किर्ते  हस्ताक्षर निवेदक आफैंले प्रयोग गरेको पाइएको छ।

वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सर्जमिन निवेदन दिने भोजराज भट्टराई र उनका छोरा उमेश भट्टराई हुन्। उमेश भट्टराई “बुद्धशान्ति साप्ताहिक” पेजका सम्पादक भनिने रोशन भट्टराईका दाजु हुन् भने रोशनका ठूलाबुबा भोजराज भट्टराई हुन्। वडा कार्यालयको आरोप छ — आफन्तले किर्ते सर्जमिन गरेको दोष लुकाएर उल्टै वडा कार्यालयलाई दोषारोपण गर्ने रणनीति अपनाइएको छ।

साक्षीहरू झुक्याइएको खुलासा

वडाले सार्वजनिक गरेको वक्तव्य र सर्जमिनमा हस्ताक्षर गरेका पाँचजना साक्षीहरूको भनाइ अनुसार उनीहरूलाई उमेश भट्टराईले घरघरमा पुगेर “केही विवरण फेरिएको” भन्दै झुक्याएर पुन: हस्ताक्षर गराएका थिए। यसबारे साक्षीहरूले २०८२ असार १९ गते वडा कार्यालयमा औपचारिक निवेदन दिएका छन्।

फेसबुक पेजमा एकतर्फी खबर?

वडाले प्रश्न गरेको छ — “कुन जग्गा? कुन निवेदक? कुन फाइल?” यस्ता तथ्य नखुलाई ‘जनप्रतिनिधिको फोटोसहित अपमानजनक पोस्ट’ किन ? सिधै उजुरीकर्ताका आफन्त पत्रकार भएर अफवाह फैलाउनु कुन पत्रकार आचारसंहिता भित्र पर्छ ? वडाले यस्तो कार्यलाई नियोजित र बदनियतपूर्ण भन्दै फेसबुक पेज तथा सम्बद्धहरूमाथि कारबाहीको माग समेत गरेको छ।

वडा कार्यालयका कर्मचारी झलक परियारका अनुसार उनले बनाएको सर्जमिन निवेदन बिना जानकारी टेवलबाट चोरी गरी त्यसमा किर्ते हस्ताक्षर गरिएको हो। यो विवरण समेत गाउँपालिकामा दर्ता भइसकेको उनले बताएका छन्।

वडाले यस विषयमा असार २० गते बैठक बसी झुटो विवरण तयार पार्ने जो सुकै भए पनि कानुनी कारबाही गर्न उच्च निकायमा सिफारिस गरिएको जनाएको छ। साथै, अफवाह फैलाउने फेसबुक पेज र व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने घोषणा पनि गरिएको छ।

यो घटनाले नेपालको स्थानीय तहमा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको नाममा भईरहेका नियोजित प्रचारका नाममा उठेका प्रश्नहरूलाई उजागर गरेको वडाध्यक्ष वाग्लेले बताए। परिवारका नाममा सञ्चालित फेसबुक पेजबाट जनप्रतिनिधि बदनाम गर्न खोजिएको यस घटनाले पत्रकारिताको नाउँमा चल्ने सामाजिक संजाल अनियमितता विरुद्ध कडा नियमनको खाँचो औंल्याएको उनको भनाइ छ।