समाचार

वर्षाले जमिन भासिँदा मेचीनगरमा घर भत्कियो, २० लाख बराबरको क्षति

मेचीनगर । झापाको मेचीनगरमा अविरल वर्षापछि जमिन भासिँदा एक परिवारको घर भत्किएको छ। मेचीनगर नगरपालिका–६, पिङकीठ्याकमा बसोबास गर्दै आएका ज्ञानबहादुर गिरीको भान्साघर र पर्खाल पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।

शनिबार दिउँसो करिब १ः४५ बजे जमिन भासिन्दा गिरीको जस्ताको छाना भएको एकतले भान्सा घर र पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनामा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानीय प्रशासनका अनुसार गिरीको मुख्य सुत्ने कोठा भने सुरक्षित रहेको छ। तर माटो भासिन थालेको क्षेत्रमै घर अवस्थित रहेकाले पूरै घर नै जोखिममा परेको जनाइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार पानीले जमिन क्रमशः कमजोर बनाउँदै क्षति पुर्याएको बताए । आवश्यक सतर्कता नअपनाइए गम्भीर दुर्घटना हुनसक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।