मेचीनगर । शिक्षा र अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान बनाउन सफल मेचीनगरस्थित इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय अब अन्तर्राष्ट्रिय स्तरमै प्रगति गर्ने दिशामा अघि बढेको छ । विद्यालयले चीनको फुजियान प्रान्तस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सँग औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गरेको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले दुई शैक्षिक प्रतिष्ठानबीच सहकार्य गर्ने जानकारी दिएको हो । यस साझेदारीपछि विद्यार्थी आदानप्रदान कार्यक्रम, शिक्षक तथा प्राध्यापक क्षमता विकास, उद्योग–अनुरूप व्यावसायिक तालिम, र संयुक्त रूपमा पाठ्यक्रम निर्माणजस्ता कार्य अगाडि बढाइने विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राई का अनुसार, यो सम्बन्धले विद्यालय मात्र नभई सम्पूर्ण मेचीनगरकै शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ ।
“हामी विद्यार्थीको जीवनलाई सफल बनाउन जीवन उपयोगी सीप र गुणस्तरीय शिक्षा दिन कटिबद्ध छौं । नयाँ कुराको खोजीमा हामी निरन्तर अघि बढिरहेका छौं,” प्रिन्सिपल राईले भने ।
यस सहकार्यअन्तर्गत विद्यार्थीहरूले चियासम्बन्धी ज्ञानलाई स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्ने अवसर पाउनेछन् । चिया उत्पादन, प्रोसेसिङ, ब्रान्डिङ, प्याकेजिङ डिजाइनदेखि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक प्रचार–प्रसार सीपसम्म विद्यार्थीले सिक्ने विद्यालयले जनाएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरको ल्याब अध्ययन, गुणस्तर परीक्षण, स्वाद पहिचान, सुगन्धको वैज्ञानिक विश्लेषण, नयाँ प्रजाति विकास र आधुनिक परीक्षण उपकरणहरूको अनुभव लिने अवसर समेत उपलब्ध हुने बताइएको छ ।
विद्यालयका शिक्षक महेश खड्काले यो कार्यक्रमले विद्यार्थीबीच संस्कार, संस्कृति र शैक्षिक दृष्टिकोणको आदानप्रदानमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनकै अवसरमा विद्यालयले आफैं निर्माण गरेको तीज विशेष भिडियो सार्वजनिक गर्ने जानकारी नृत्य निर्देशक दिवस गिरी ले दिए । साथै, आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउन यही शुक्रबार विद्यालयका शिक्षिकाबीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गरिने भएको छ ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक विकास ग्वाल ले गरेका थिए ।

