झापा । झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ बर्षअघि सुरु गरिएको “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” हालसम्म पनि नागरिकलाई प्रत्यक्ष सेवा दिन असमर्थ देखिएको छ । फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक भएको लामो समय बितिसक्दा पनि आयोजनाले सेवा दिन नसकेपछि स्थानीयवासी निराश बनेका छन् ।
कनकाइ, विर्तामोड र अर्जुनधारा नगरपालिकाले संयुक्तरूपमा अगाडि सारेको आयोजना तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शिलान्यास गरेका थिए । निक्कै तामझामका साथ २०७५ सालबाट अगाडि बढेको यस आयोजना झापाको मात्र नभई प्रदेशस्तरमै आदर्श परियोजना मानिएको थियो । फोहोरलाई व्यवस्थित गर्दै नागरिकलाई स्वच्छ ऊर्जाको पहुँच दिने र आर्थिक गतिविधिलाई समेत टेवा पु¥याउने लक्ष्यसहित यसको सुरुवात गरिएको थियो ।
खासगरी कनकाइ नगर क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकता र क्रमशः विर्तामोड र अर्जुनधारा क्षेत्रमा पाइपलाइन बिछ्याएर घर घरमै मिथेन ग्यास आपूर्ति गर्ने योजनाले सर्वसाधारणमा ठूलो आशा जगाएको थियो । तर, ६०÷४० लागत सहभागिता अन्तरर्गत करोडौं लगानी र नगरवासीको प्रत्यक्ष लागत सहभागितामा अघि बढाइएको यो योजना अहिलेसम्म लक्ष्यमा पुग्न नसकिरहेको अवस्था छ ।
योजना प्रारम्भमा फोहोरलाई मोहोर बनाउने भनिएको थियो । तर, अझैसम्म पनि नागरिकलाई पाइपलाइन मार्फत घर घरमै ग्यास पु¥याउन कम्पनीले चासो नदिइएको स्थानीय कनकाइ–२ निवासी बिष्णुमाया श्रेष्ठ बताउँछिन् । आयोजना सञ्चालनका लागि आफुले पनि लगानी लगाएको तर, अहिले यतिका बर्ष भइसक्दा समेत सेवा नपाएको उनको भनाइ छ । सर्वसाधारणले आफ्नो क्षमता अनुसार पाँच हजारदेखि लाखौं रूपैयाँसम्म लगानी गरेको भएता पनि त्यस वापत अहिलेसम्म कुनै सेवा नपाएको उनको दुखेसो रहेको छ ।
त्यस्तै कनकाइ–२ निवासी सितादेवि ढकालको पनि अवस्था त्यस्तै रहेको सुनाउँछिन् । ग्यास पाइपलाइन मार्फत घरमा जोड्न भनेपछि आफ्नोसंगै छोराको पनि पँचास हजार लगानी लगाएको बताइन् । फोहोरबाट उत्पादीत ग्यास पाइपलाइन मार्फत घर–घरमा पुर्याउने भनियो तर, अहिले उत्पादन भएको ग्यास ठुलठुला सिलिन्डरमा भरेर होटल होटलमा पुर्याइने गरेको छ । नागरिकलाई पाइपलाइन मार्फत ग्यास उपलब्ध हुने त सपना मात्रै बन्ला जस्तो रहेको उनी बताउँछिन् ।
६०÷४० को अवधारणामा सञ्चालन भएकमो आयोजनामा ६० प्रतिशत तीन वटा नगरपालिका र ४० प्रतिशत स्थानीय जनसहभागिताको रहेको छ । करिब १ हजार घरधुरीले पाइपलाइन मार्फत ग्यास उपभोग गर्न सक्ने गरि सञ्चालन गरिएको आयोजनामा नागरिक स्तरबाट पाँच हजारदेखि लाख रुपैंयाँ बढीसम्म लगानी रहेको छ । कनकाई–२ स्थित स्थानीय सन्का खोलाको बाधमा रहेको यस कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा हालसम्म १६ करोड बढी लगानी भइसकेको छ । योजनामा कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिकाले २ करोड ५४ लाखको दरले लगानी गरेका छन् ।
जनसहभागिता सहित करोडौंको लगानीमा सञ्चालन भएका योजना सञ्चालनमा ढिलासुस्ती हुनु प्राविधिक कमजोरी, लगानीको पारदर्शितामा देखिएका प्रश्न र नेतृत्व तहबीचको समन्वय अभाव रहेको जानकारहरु बताउँछन् । फोहोर व्यवस्थापनमा सरकार र नागरिकबीचको सहकार्यलाई सफल बनाउन सुरु गरिएको यो आयोजनाको भविष्य अझै अनिश्चित बनेको छ । झापाको फोहोर व्यवस्थापन र वैकल्पिक ऊर्जाको प्रयोग दुवैमा ठूला उपलब्धि दिने अपेक्षा गरिएको आयोजना अधुरो रहँदा संस्था र नगरपालिकाहरूको क्षमतामाथि नै प्रश्न खडा भएको उनीहरुको भनाई छ ।
यता कम्पनीले भने काम निरन्तर सञ्चालन भइरहेको बताउँदै जतिसक्दो चाडैं लक्ष्य अनुरूप सेवा प्रदान गर्ने कार्यमा जुटी रहेको प्रतिक्रिया दिने गरेको छ । अहिले पनि कम्पनी चालु अवस्थामा रहेको जनाउँदै कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर रूपक कार्कीले उत्पादन क्षमताको करिब ३० प्रतिशत उत्पादन भइरहेको बताउँछन् । प्राविधिक कारणले केही ढिला भएको जनाउँदै उनले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले कम्पनीले यथाशिघ्र पाइपलाइनबाट ग्यास वितरण गर्नेगरी तयारीमा जुटी रहेको बताउँछन् ।

