झापा । संकटा फुटबल क्लब काठमाडौं झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टिम झापा एफसीलाई ६-० गोल अन्तरले पाखा लगाउँदै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित खेलेको संकटाले घरेलु टोली झापालाई उस्कै मैदानमा दबाबमा राख्न सफल रह्यो । खेलको सुरुवातदेखि नै संकटाले आक्रमक खेल प्रस्तुत गरेको थियो । खेलको १३ औँ मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् । १५ औँ मिनेटमा अनिसा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३ औँ मिनेटमा समिक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन् ।
तर, निरन्तर दबाब बनाइरहेको संकटाले २३ औँ मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् । ३० औँ मिनेटमा कप्तान यशोदा शाहीले पाएको फ्रिकिक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समिक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० बनाइन् ।
दोस्रो हाफको सुरुवातमै संकटा अझ आक्रमक बन्यो । ५५ औँ मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याइन् । ६१ औँ मिनेटमा पूर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् ।
८३ औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जित ६–० मा पक्का गरिन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, जसअन्तर्गत उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।
खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।

