खेलकुद

नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकप फाइनलमा, संकटा बाहिरियो

झापा । नेपाल पुलिस क्लक झापाको दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको हो । योसंगै पुलिसले नगद पाँच लाखसमेत सुरक्षित गरेको छ ।

खेलको सुरुवाती मिनेटदेखि नै दुबै टिमबीच बराबरी प्रतिस्पर्धा देखिएको थियो । २४ औँ मिनेटमा पुलिसले कर्नर किकबाट गोलको अवसर पाएको थियो । पूजा रानाले दिएको कर्नरमा आएको सटलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

३० औँ मिनेटमा संकटाले उत्कृष्ट मौका गुमायो । भुटानी खेलाडी छिरिङ वाङग्देनले दिएको क्रसमा पूर्णिमा राईले डिबक्सभित्रबाट हेडर गर्न खोजे पनि सफल हुन सकिनन् । पहिलो हाफको इन्ज्युरी समयमा पनि संकटाले अग्रता लिने मौका पाए पनि सेनुले दिएको क्रसमा छिरिङको सट गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । यस संस्करणको प्रतियोगितामा पहिलोपटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउबाले सटिक हेड मार्दै गोल गरिन् । त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।

खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन् । इन्ज्युरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरियो ।

२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् ।

पुलिसले अब उपाधिका लागि फाइनलमा भोलि हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।