संघ \संस्था स्वास्थ्य

मेचीनगरले मनकामना अस्पतालको सेवा बन्द गर्न निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले मनकामना अस्पताल प्रा.लि. लाई तत्कालका लागि अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको मिति २०८२ असोज ३० गते च.न. १४४८ नम्बरको पत्रद्वारा मेचीनगर–१३ चारआली स्थित मनकामना अस्पताललाई नियमानुसार दर्ता र अस्पताल संचालन स्वीकृति सम्बन्धी आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गरेको थियो । तर अस्पतालले सो निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा नगरेकाले सो कदम चालिएको मेचीनगरले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । “कुनै पनि स्वास्थ्य संस्था नियमानुसार दर्ता वा नवीकरण नगरी सेवा सञ्चालन गर्नु गैरकानुनी भएको हुँदा सो प्रक्रिया पूरा नगरेसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द गर्नू।”

नगरपालिकाले कानुनी प्रक्रिया पूरा नगरेसम्म मनकामना अस्पतालको सम्पूर्ण सेवा बन्द गर्ने कात्तिक २० गते निर्णयसहितको एक पत्र जारी गरि बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र वडा कार्यालय मेचीनगर–१३ लाई पनि पठाइएको छ।

यस निर्देशनसँगै मेचीनगर क्षेत्रका स्वास्थ्य सेवा नियमन र मापदण्ड कार्यान्वयनमा कडाइ हुने संकेत देखिन्छ ।