मेचीनगर । मेचीनगर–६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयमा बुधबार विद्यार्थीहरूको सीप, कला र सृजनात्मक क्षमताको प्रदर्शनी सम्पन्न भएको छ । सिनियर तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणित, नेपाली भाषा, चित्रकला तथा हस्तकलासँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको थियो ।
विद्यार्थीहरूले धरहरा, विश्वनाथ बाबाको मन्दिर, मिनी माउन्टेन, पर्यटकीय तथा धार्मिक स्थल, स्मार्ट सिटी, प्रदूषण नियन्त्रणका नमूना, ब्रह्माण्ड, वन–जंगल तथा विज्ञानका विभिन्न मोडेल निर्माण गरी पाँच वटा स्टलमा प्रस्तुत गरेका थिए । प्रदर्शनी अवलोकनका क्रममा विद्यार्थीहरूले आफैंले सामग्रीबारे जानकारी गराएका थिए ।
दिउँसो २ बजेदेखि सुरु भएको प्रदर्शनी करिब ४ बजेसम्म चलेको थियो । आफ्ना नानीहरूको सृजनात्मक काम देखेर अभिभावक तथा स्थानीयवासी उत्साहित बनेका थिए । अभिभावक अमर खड्काले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता, चेतना र सामूहिक भावना विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै अर्का अभिभावक विकास भट्टराईले विद्यालयले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
पशुपति अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक खेम लिम्बुले १५ दिनको निरन्तर प्रयासबाट प्रदर्शनी सफल भएको र सबै सामग्री विद्यार्थी स्वयंले निर्माण गरेको बताए ।
प्रदर्शनीमा सहभागी अभिभावकहरूलाई धन्यवाद दिँदै विद्यालयका प्रिन्सिपल अनिता थापाले विद्यार्थीलाई किताबी ज्ञानसँगै सीपमूलक र अतिरिक्त क्रियाकलापमा जोड दिइएको बताइन् । प्रिन्सिपल थापाले यसअघि दुई साता अघि मात्रै कक्षा पाँच सम्मको विद्यार्थीहरूले आफ्नो अतिरिक्त क्रियाकलाप प्रदर्शनी गरेकाे बताइन् ।
प्रदर्शनीका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक गीत प्रस्तुत गरी अभिभावकलाई मनोरञ्जन समेत प्रदान गरेका थिए ।

