मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको फिजियोथेरापी सेवाका सञ्चालक कमल गौतमले जानकारी दिए । ग्रामीण क्षेत्रमा हार्डजोर्नीको समस्या बढी देखिएकाले स्थानीयको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै गाउँमै थेरापी सेवा सञ्चालनमा ल्याइएको उनले बताए । ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र विपन्नलाई अवस्था हेरेर निःशुल्क सेवा दिइँदै आएको उनको भनाइ छ ।
शिविरमा वरिष्ठ पायल्स, फिसर, फिस्टुला तथा फिजिसियन विशेषज्ञ डा. एम.पी. शाह र सञ्जीवनी आयुर्वेद सेवाका आयुर्वेद चिकित्सकबाट सेवा प्रदान गरिएको थियो । साथै दक्ष थेरापिष्टद्वारा हार्डजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीको थेरापी गराइएको थियो ।
बौद्धमोडमा पछिल्लो ६ महिनादेखि थेरापी सेवा सञ्चालनमा रहेको छ । ग्रामीण क्षेत्रमा सेवा सुरु भएपछि हार्डजोर्नी तथा नशाको समस्याबाट पीडित बिरामीले दैनिक रूपमा थेरापी सेवा लिइरहेका छन् र धेरै लाभान्वित भएको आयोजकको भनाइ छ ।
स्वास्थ्य परीक्षणका लागि शिविरमा पुगेकी मेचीनगर–१ की हरिमाया पोखरेलले आफ्नै क्षेत्रमा थेरापी सेवा उपलब्ध भएकोमा खुसी व्यक्त गरिन् । घुँडाको समस्याका कारण १५ दिनदेखि थेरापी गराइरहेकी उनले स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताइन् । शिविरमा मेचीनगरका विभिन्न वडाबाट स्थानीयको सहभागिता रहेको थियो ।

