धर्म संस्कृती संघ \संस्था

पिपलडाँडा टोलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै

मेचीनगर । मेचीनगर–५ स्थित पिपलडाँडा टोलमा धार्मिक चेतना अभिवृद्धि तथा सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पिपलडाँडा टोल विकास संस्थाको आयोजनामा महायज्ञ माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महायज्ञका प्रमुख वाचकका रूपमा पं. श्री नेत्रप्रसाद महराई रहनुहुनेछ भने उपवाचकका रूपमा पं. श्री हरिप्रसाद गुरागाईं सहभागी हुनुहुनेछ। धार्मिक विधिअनुसार कार्यक्रमको शुभारम्भसँगै गणपति पूजा शंकर डुंगानाले सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार महायज्ञमार्फत धार्मिक ज्ञानको प्रचार–प्रसार, नैतिक मूल्य–मान्यताको संरक्षण तथा समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ। साथै, कार्यक्रमले स्थानीयवासीबीच आपसी सद्भाव, सहकार्य र धार्मिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

महायज्ञ अवधिभर दैनिक रूपमा भागवत कथा प्रवचन, भजन–कीर्तन तथा विविध धार्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ। मेचीनगर क्षेत्रका श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आयोजक समिति संयोजक सुरज देवकोटाले आग्रह गर्नुभएको छ।