झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा आदर्शले शनिश्चरे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै खेल रोमाञ्चक मोडमा पुग्यो । खेलको ४७ औँ मिनेटमा शनिश्चरे एफसीका करन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । त्यसको ठीक एक मिनेटपछि आदर्शका खमिर गिल्सन कन्दङ्वाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
लगत्तै आक्रामक बनेको आदर्शले खेलको ५३ औँ मिनेटमा निर्णायक गोल गर्यो । पुजन थापाले गरेको उक्त गोल नै टोलीको जितको आधार बन्यो । त्यसपछि दुवै टोलीबाट थप गोलका प्रयास भए पनि स्कोर परिवर्तन हुन सकेन ।
उत्कृष्ट प्रदर्शन गरेका आदर्शका खमिर गिल्सन कन्दङ्वा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे । यस जितसँगै आदर्श युवा क्लबले सेमिफाइनलमा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरसँगको भेट पक्का गरेको छ । आगामी खेलमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
यसैबीच, प्रतियोगिता अन्तर्गत भोलि (बुधबार) आयोजक नकलबन्दा स्पोर्टिङ क्लब र दमक एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। उक्त खेल दिउँसो ३ बजेदेखि सोही मैदानमा सञ्चालन हुनेछ ।

