मेचीनगर । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सम्पन्न तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै आदर्शले ट्रफी उचालेको हो । जीतसंगै आदर्शले नगद एक लाख १ हजारसहित च्याम्पियन ट्रफी हता पार्दा आयोजकले ५५ हजारमा चित्त बुझायो ।

फाइनल खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको आदर्श युवा क्लबले पहिलो हाफमै खेलमाथि पकड जमाएको थियो। खेलको ९ औँ मिनेटमा सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङमार्फत टोलीलाई अग्रता दिलाए। सुरुआती गोलसँगै आत्मविश्वासले भरिएको आदर्शले आयोजकमाथि लगातार दबाब सिर्जना गरिरह्यो। पहिलो हाफमा थप गोल हुन नसके पनि खेलको लय आदर्शकै पक्षमा रह्यो।

दोस्रो हाफमा पनि आदर्शको वर्चस्व कायमै रह्यो। खेलको ५४ औँ मिनेटमा दिवस बाँस्तोलाले सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा फर्किने प्रयास गरेको आयोजक टोली आदर्शको मजबुत रक्षापंक्ति र सन्तुलित मिडफिल्डका कारण सफल हुन सकेन। खेलको ६७ औँ मिनेटमा सनिल लामाले अर्को गोल थपेपछि आदर्शको जित लगभग सुनिश्चित भएको थियो। बाँकी समयमा दुवै टोलीबाट केही प्रयास भए पनि थप गोल हुन सकेन र खेल ३–० को नतिजासहित समाप्त भयो।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका खमिर गिल्सन कन्दङवा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। आयोजक टोलीका साहिल धिमाल सर्वाधिक गोलकर्ता घोषित भए भने आदर्शका उपेन्द्र ल्वागुन उत्कृष्ट गोलरक्षक चुनिए। आयोजकका अनुसरण राई उत्कृष्ट डिफेन्डर तथा अंश श्रेष्ठ इमर्जिङ प्लेयर बने। उनीहरूले जनही नगद रु. ३ हजार १ सयसहित ट्रफी प्राप्त गरे।
प्रतियोगितामा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसहित ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डीएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे गरी १० टोलीको सहभागिता रहेको थियो।
समापन समारोह नकलबन्दा स्पोर्टिङ क्लबका अध्यक्ष भक्त गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर ‘मामा’ प्रमुख अतिथि रहेका थिए। साथै मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की, वडा नं. ६ का कार्यवाहक अध्यक्ष भविन्द्र सुब्बा, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरू पुष्पकुमार गेलाल र देवीमाया विकलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर), नकलबन्दा बचत तथा ऋण सहकारीका अध्यक्ष केशरप्रसाद तिम्सिना, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, प्रहरी चौकी नकलबन्दाका प्रमुख अशोक चौहान, विओपी नकलबन्दाका प्रमुख सूर्य श्रेष्ठ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हिरा सुर्खेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव सुरज तामाङले गरेका थिए।
स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, युवामा अनुशासन र सकारात्मक ऊर्जा अभिवृद्धि तथा प्रतिभाशाली खेलाडी पहिचानमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

